सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा १७ औँ गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरि भव्य रूपमा दिवस मनाइएको छ। कार्यक्रमको प्रमुख आकर्षण राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान तथा १९ वर्षमुनिको नेपाली महिला टोलीकी कप्तान पूजा महतोको सम्मान रहेको थियो।

गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा कप्तान महतोलाई सम्मानपत्रसहित ५० हजार रुपैयाँको चेक प्रदान गरि सम्मान गरिएको हो। नेपाली खेल क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो।

कार्यक्रममा सहिद विधा सागर र शिवकुमार रामलाई पनि मरणोपरान्त सम्मान गरिएको छ। उनीहरूको परिवारलाई २५/२५ हजार रुपैयाँको चेक र सम्मानपत्र प्रदान गरिएको थियो।

त्यस्तै, नेपाली कांग्रेसका पूर्व सभापति सत्यदेव सिंह दनुवारलाई पनि दीर्घकालीन राजनीतिक योगदानको कदर गर्दै २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपाध्यक्ष जितेन्द्र कुशवाहा, उपाध्यक्ष गिता देवी महतो, वडा अध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश यादव, कर्मचारी, विद्यार्थी, स्थानीयबासी र पत्रकारहरूको उपस्थिति थियो।

आयोजकले कार्यक्रमका अवसरमा पत्रकारहरूलाई पनि मायाको चिनो प्रदान गरिएको जानकारी दिएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले गणतन्त्र प्राप्तिका लागि भएको बलिदान र संघर्षलाई सम्झनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “वर्तमान शासन प्रणालीमा केही असन्तुष्टि भए तापनि गणतन्त्रको विकल्प अरू कुनै शासन प्रणाली होइन।”

कार्यक्रमले स्थानीय तहमा गणतन्त्रको भावना अझ प्रगाढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।