सर्लाही जिल्लाका नदी तथा खोलामा निर्माण गरिएका तटबन्धहरू बाढीका कारण जिर्ण हुँदै गएपछि डुवानको समस्या थप गहिरिएको छ।

लखनदेही खोला, झिम खोला, बागमती नदी लगायतका साना–ठूला नदी र खोलामा बनाइएका तटबन्धहरू हरेक वर्ष बाढीको कटानमा परेर कमजोर बन्दै गएका छन्। यसले गाउँबस्तीलाई डुवानमा पार्नुका साथै कृषिमा समेत ठूलो क्षति पुर्याईउने गरेको छ।

ब्रहम्पुरी गाउँपालिकाको त्रिभुवननगर गाउँमा बाढीले तटबन्ध भत्काएपछि बस्ती डुवानमा परेको थियो। अहिले पनि मर्मत नहुँदा पुनः डुवानको जोखिम कायमै छ।

स्थानीयवासीहरू भन्छन्, “हामी वर्षेनी डुबानको त्रासमा बाँचिरहेका छौं। तटबन्ध मर्मतमा करोडौं रुपैयाँ खर्च हुने भनिए पनि काम ठिक्क ठाउँमा नहुँदा भ्रष्टाचारको आशंका छ।”
हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि प्रभावकारी काम नभएको स्थानीयको गुनासो छ।

स्थानीय किसान महेश महतोले भने, “हामीले मेहनत गरेर लगाएको बाली पनि बाढीले बगाउँछ। खेतीयोग्य जमिन कटान भएर वर्षेनी क्षति व्यहोर्नु परेको छ।”

महेश महतो मात्र होइनन्, यहाँ सयौं किसान बाढीको जोखिम मोलेर खेती गर्न बाध्य छन्। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ, नत्र बर्षेनी दोहोरिने यस संकटले जनधनको क्षति झनै बढ्दै जाने निश्चित छ।