ग्रामीण क्षेत्रमा बसोबास गर्ने किशोर, किशोरी तथा युवाहरुलाई लक्षित गर्दै “फार्म टु फिल्म” भन्ने नाराका साथ पाँच दिने आधारभूत छायांकन तथा सिनेमा निर्माण तालिम सम्पन्न भएको छ।
ग्राउन्डस्वेल इन्टरनेसनलको सहकार्यमा ग्रामीण नारी उत्थान संघ, हरिपुर–०२ द्वारा आयोजित तालिम २०८२ असार १ गतेदेखि असार ५ गतेसम्म लालबन्दीको युनाइटेड होटलमा सञ्चालन गरिएको हो। तालिममा हरिपुर, लालबन्दी र इश्वरपुर नगरपालिकाबाट आएका २० जना युवाहरुले सहभागिता जनाएका थिए।
परियोजना संयोजक मुकुन्द राज जोशीका अनुसार, डिजिटल युगमा युवाहरुलाई केवल सामग्री उपभोक्ता (content consumer) नभई सामग्री निर्माता (content creator) बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। उनले भने, “यस तालिममार्फत युवाहरुलाई सामाजिक रुपान्तरण, सफलताको कथा तथा संघर्षका यथार्थ कथाहरु चलचित्रमार्फत प्रस्तुत गर्न सक्ने सीप प्रदान गरिएको छ।”
तालिम सामुदायिक परिचालनमार्फत जैविक कृषिमा आधारित जीविकोपार्जन (ALCM) परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो। यसले रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै, जैविक कृषि प्रविधिको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ। तालिमका सहभागीहरुले कृषिमा भएका रुपान्तरण र किसानका जीवनका कथाहरुलाई दृश्यमार्फत उजागर गर्ने तरिका सिकेका छन्।
तालिममा सहभागी युवाहरुलाई कथा लेखन, पात्र छनोट, कथा प्रस्तुतीकरण शैली, छायांकनका मूलभूत पक्ष तथा चलचित्रमा सन्देश प्रवाह गर्ने तरिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो।
ग्रामीण युवाहरुको सिर्जनात्मक क्षमतालाई अभिव्यक्त गर्ने र उनीहरुलाई सामाजिक परिवर्तनका लागि सशक्त बनाउने उद्देश्यका साथ सम्पन्न यो तालिमको सफलतापछि, आगामी दिनमा अझ व्यापक रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।