“समृद्ध चक्रघट्टाको आधार! शिक्षा, स्वास्थ्य, कृषि, जनशक्ति र पुर्वाधार!!” भन्ने मुल नाराका साथ सर्लाहीको चक्रघट्टा गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले गाउँपालिकाको १५ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी अनुमानित आयव्यय विवरण र निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी ४५ करोड ६० हजार बजेको अनुमान गरेको छ । जसमा आन्तरिक राजस्वबाट ६३ लाख, राजस्व बाँडफांडबाट ९ करोड १३ लाख ४५ हजार, वित्तीय समानीकरण अनुदानबाट ९ करोड ४० लाख, सम्पुरक अनुदानबाट ७२ लाख अनुमान गरेको छ ।

 

त्यस्तै, सशर्त चालू तर्फ १२ करोड ४९ लाख, पुजीगत तर्फ ४ करोड ९८ लाख र प्रदेश सरकारबाट ६५ लाख १५ हजार रुपैयाँको अनुमान गरेको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका कृषि योग्य जमिनलाई उत्पादनमुखी बनाउन आवश्यकता अनुसार बोरिङ जडान गरि कृषि मिटर तथा विद्युतिकरणको लागि आवश्यक काम गर्ने, पशुपालन तथा कुखुरा पालन गर्ने किसानहरुलाई ब्यबसाय दर्ता गराइ अझै प्रभावकारी बनाउन ब्यवसायी र गाउँपालिकाको साझेदारीमा विशेष अनुदानको व्यवस्था मिलाउनेलगायतका निति लिएको छ ।

प्रमुख अतिथि नेपाल सरकारका पुर्व रक्षामन्त्री हरि प्रसाद उप्रेती र मधेश प्रदेशका पुर्व अर्थमन्त्री संजय कुमार यादवको विशिष्ट अतिथ्यतामा गाउँपालिकाको प्राङ्गणमा आयोजित गाउँसभामा ९ वटै वडाका वडा अध्यक्ष, कर्मचारी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।