सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बहुपयोगी सोहजन (मोरिङ्गा) को वृक्षारोपण अभियान ‘चन्द्रनगर सोहजन क्रान्ति’ को औपचारिक शुभारम्भ गरिएको छ। बुधबार गौँचरणमा आयोजित विशेष कार्यक्रमबीच मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यता र अर्थ मन्त्री सुनिल कुमार यादवको विशिष्ट आतिथ्यतामा अभियान सुरु गरिएको हो।

कार्यक्रममा बोल्दै मन्त्रीद्वय क्षेत्री र यादवले चन्द्रनगर गाउँपालिकाको सोहजन अभियानको खुलेर प्रशंसा गर्दै सोहजन खेतीलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। मन्त्री क्षेत्रीले पोषण, स्वास्थ्य र रोजगारीको दृष्टिकोणले सोहजन खेती निकै प्रभावकारी रहेको उल्लेख गर्दै ब्राण्डिङ र प्याकेजिङमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री यादवले कृषकलाई बेवास्ता गर्ने राज्यको नीतिका कारण किसान पेशाबाट विमुख हुँदै गएको टिप्पणी गर्दै अब कृषिमा सोहजनजस्ता बहुउपयोगी बालीमार्फत समृद्धिको बाटो खोल्न सकिने बताउनुभयो।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सोहजन खेतीबाट पोषण, स्वास्थ्य, जलवायु संरक्षण, आर्थिक समृद्धि र सौन्दर्य वृद्धिसम्मका विविध फाइदा हुने उल्लेख गर्दै सबै वडामा अभियान सशक्त रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। पालिकाभित्र ८३ हजार बिरुवा वितरण र रोपण गर्ने लक्ष्य लिइएको उनले बताए।

फूलजोर–ईश्वरपुर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत पर्ने ६ किलोमिटर क्षेत्रमा करिब १,२०० सोहजनका बिरुवा रोपिनेछ। साथै, व्यावसायिक खेती गर्न चाहने कृषकलाई क्षेत्रफलअनुसार आवश्यक कागजातका आधारमा निःशुल्क बिरुवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। करेसाबारीमा व्यक्तिगत प्रयोगका लागि रोप्न चाहने घरधुरीहरूलाई पनि सोहजनका बिरुवा वितरण गरिनेछ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले सोहजन खेतीबारे फैलिएको भ्रम चिर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले चन्द्रनगरका सातै वडामा सडक पेटी, सार्वजनिक स्थल तथा कृषकको खेतबारीमा समेत वृक्षारोपण गरिने जानकारी दिनुभयो।

अध्यक्ष महतोका अनुसार सोहजनमा ९२ प्रकारका पोषक तत्व पाइन्छन्, जुन ३०० भन्दा बढी रोगको रोकथाम र उपचारमा उपयोगी हुन्छ। यसको पात, डाँठ, फुल र फल सबै उपयोगी रहेका कारण यो मानव, पशु र वातावरणका लागि निकै महत्वपूर्ण रहेको उहाँले बताए।

कार्यक्रममा सोहजन अभियानको विरोध भइरहेको सुनेर आफू अचम्मित भएको भन्दै अध्यक्ष महतोले यस्तो बहुउपयोगी कामको विरोध गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो। मन्त्रीद्वय क्षेत्री र यादवले पनि यस्तो सकारात्मक अभियानको विरोध गर्नु विडम्बनापूर्ण भएको बताएका थिए।

कार्यक्रममा पालिकाका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, विद्यार्थी तथा पालिकाबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।