नेपाली कांग्रेस जिल्ला कार्यलय सर्लाहीले उखु किसानहरूलाई दिइने अनुदान र मूल्य निर्धारणसम्बन्धी समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा मधेस प्रदेशका किसानहरूले वर्षेनी उत्पादन गर्दै आएको उखुबाट जीविकोपार्जन गर्दै आएको तर सरकारले समयमै अनुदान वितरण नगरेको र आर्थिक वर्ष २०८२/०८३ को अनुदानमा अचानक कटौती गरिएको उल्लेख गरिएको छ। यसले किसानलाई गम्भीर आर्थिक क्षति पुर्‍याउने र दैनिक जीवनयापनमा समस्या देखिएको जनाइएको छ।

ज्ञापनपत्रमा बाँकी अनुदान निष्पक्ष रूपमा तुरुन्तै उपलब्ध गराउन र आउँदो दिनमा किसानलाई झन् मार पर्ने गरी नीति नबनाउन आग्रह गरिएको छ।

ज्ञापन नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहद्वारा हस्ताक्षरित छ।