सर्लाही जिल्लाको रामनगर गाउँपालिका–६ स्थित सिसौटमा रहेको श्री बगमती माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुको एसईई (SEE) परीक्षा नतिजा अझैसम्म नआएको भन्दै विद्यार्थी र अभिभावकहरु आक्रोशित भएका छन्।

विद्यालयबाट एसईईमा १२५ भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। यद्यपि, तीन दिनअघि सर्लाही सहित देशभरको एसईई नतिजा सार्वजनिक भइसकेको अवस्थामा पनि सो विद्यालयका विद्यार्थीहरुको नतिजा अझै नआउनु अन्यौलपूर्ण भएको अभिभावकहरुको गुनासो छ।

विद्यालय प्रशासनका अनुसार सबै उत्तरपुस्तिका समयमै परीक्षा बोर्डमा पठाइएको थियो र उत्तरपुस्तिकाको मूल्यांकनसमेत सम्पन्न भइसकेको छ। एक विद्यालय कर्मचारीले जानकारी दिँदै भने, “परीक्षा बोर्डको प्राविधिक त्रुटिका कारण नतिजा रोकिएको बुझिएको छ। ढिलाइ भए पनि भोली वा पर्सी बुधबार दिउँसोसम्ममा नतिजा सार्वजनिक हुने सम्भावना छ।”

अहिलेसम्म नतिजा नआउनुले विद्यार्थीको मनोबलमा असर परेको भन्दै अभिभावकहरुले चाँडो नतिजा प्रकाशित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।