मधेश प्रदेश सरकार अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र प्रादेशिक अस्पताल मलंगवाको प्राविधिक सहयोगमा मलंगवामा पेल्भिक अङ्ग खस्ने समस्या र हाइड्रोसिल  सम्बन्धी निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ।

शिविरको पहिलो दिनमै ४ जनाको सफल शल्यक्रिया सम्पन्न गरिएको छ। शल्यक्रिया तथा परीक्षण कार्य प्रभावकारी ढंगले सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

शिविरको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका परामर्श शाखा प्रमुख डा. बिपिन झा र प्रदेश स्वास्थ्य निर्देशनालय सापहीका निर्देशक सरोज चन्द्र न्यौपाने विशेष आतिथ्यका रूपमा सहभागी थिए। उनीहरू आफ्नै प्राविधिक टोलीसहित प्रादेशिक अस्पताल मलंगवामा उपस्थित भएका थिए।

कार्यक्रमको अध्यक्षता प्रादेशिक अस्पताल मलंगवाका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. संजीव कुमार सिंहले गरेका थिए।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादवको नेतृत्वमा शल्यक्रिया सम्पन्न गरिएको हो। टोलीमा डा. रञ्जित कुमार साह, ओ.टी. स्क्रब नर्स रिंकु साह र नर्सिङ इन्चार्ज बिना यादवको सक्रिय सहभागिता रहेको थियो।

डा. संजीव कुमार चौधरीको नेतृत्वमा राकेश यादव (एनेस्थेसिया इन्स्पेक्टर) र सुरेन्द्र कुमार मण्डल (एनेस्थेसिया सहायक) को टोलीले सेवा प्रदान गरेका थिए।

वरिष्ठ एएनएम बिन्दु यादव र नर्सिङ अफिसर रिंकु महतोको सहभागितामा परीक्षण प्रक्रिया अगाडि बढाइएको थियो।

वरिष्ठ सर्जन डा. संजीव झाको नेतृत्वमा डा. ओम साहनी (मेडिकल अफिसर) को सहभागितामा शल्यक्रिया सम्पन्न गरिएको हो।

शिविरको सफल शुरुवातसँगै आयोजकहरूले आगामी दिनहरूमा अझ धेरै बिरामीलाई सेवा पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।