सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष राजकुमार महतोले गर्नुभयो।

कार्यक्रममा सातै वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत राजेश यादव, नेपाल पत्रकार महासंघ सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुरलगायतको उपस्थिति रहेको थियो।

वडाध्यक्षहरूले आ–आफ्नो वडामा सम्पन्न विकास निर्माण र सुधार कार्यहरूको विवरण प्रस्तुत गर्दै जनप्रतिनिधिका प्रयास र योजनाहरूको जानकारी गराएका थिए। स्थानीय प्राध्यापक सरोज सिंहले गाउँपालिकाभित्र शिक्षा क्षेत्रमा भएको प्रगति र आवश्यक सुधारबारे अध्यक्ष महतोलाई जानकारी गराउनु भयो।

स्वास्थ्य शाखा प्रमुख सामी शाखालगायतका शाखा प्रमुखहरूले पनि आ–आफ्नो क्षेत्रका गतिविधि र सेवा प्रवाहबारे विवरण प्रस्तुत गर्दै गाउँपालिकाले नागरिकलाई सहज सेवा उपलब्ध गराएको जनाए।

सार्वजनिक सुनुवाईका क्रममा स्थानीय नागरिकहरूले सडक, स्वास्थ्य, खानेपानी, सिँचाइजस्ता विषयमा अझ बढी प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

अध्यक्ष महतोले जनसुझावलाई सम्मान गर्दै समाधानका लागि पहल गरिने प्रतिवद्धता जनाउनुभयो। उहाँले राजनैतिक हस्तक्षेपका कारण काम गर्न कठिनाइ हुने अवस्था रहेको उल्लेख गर्दै, सबै वडाध्यक्षहरूको सहमतिमा आउँदो भदौदेखि वडास्तरमै सार्वजनिक सुनुवाई सुरु गरिने जानकारी दिनुभयो।

कार्यक्रम अन्त्यमा अध्यक्ष महतोले कार्यक्रम सफल बनाउन सहकार्य गरेकोमा नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई धन्यवाद ज्ञापन गर्नुभयो।