‘सम्पूर्ण शोषित, उत्पीडित, बहिष्कृत वर्ग तथा समुदाय एक जुट होऔं’ भन्ने मूल नारासहित सर्लाहीको मलंगवामा संयुक्त जनजागरण अभियान अन्तर्गत अन्तरक्रिया तथा सभा कार्यक्रम सम्पन्न भएको छ।

संघीय गणतान्त्रिक गठबन्धनद्वारा मलंगवाको नारायण धर्मशालामा आयोजित उक्त कार्यक्रममा जिल्ला इन्चार्ज सीताराम साहको अध्यक्षता रहेको थियो।

कार्यक्रममा पूर्व राज्य मन्त्री एवं मधेस प्रदेश सभा सदस्य बिमला अंसारी, संघीय समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष रिजवान अंसारी, बहुजन एकता पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीका रामकुमार महतो, नेपाल जन जागृति पार्टीका अध्यक्ष धुवलाल निषाद, बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान लगायत मधेस प्रदेशस्तरका विभिन्न दलका नेताहरूको विशेष आतिथ्यता रहेको थियो।

वक्ताहरूले वर्तमान सरकारले सिर्जना गरेको अवस्थाले उत्पीडित वर्गहरूलाई झन् संकटमा पारेको धारणा राखे। उनीहरूले कथित मधेसवादी दलहरूले जातीय विभेदलाई प्रश्रय दिँदै दलित, मुस्लिम र उत्पीडित समुदायलाई सत्ताबाट विमुख बनाएको आरोप लगाए।

गठबन्धनका नेताहरूले मधेसका दलित, मुस्लिम तथा अन्य वञ्चित समुदायका हक र अधिकार सुनिश्चित गर्न वडा स्तरबाट जनजागरण अभियान र आन्दोलन थालिने घोषणा गरे।

कार्यक्रममा अधिकांश वक्ताहरूले आगामी निर्वाचन २०८४ लाई केन्द्रमा राखेर साझा रणनीति निर्माण गर्ने आवश्यकतामाथि जोड दिए।

सभाअघि दिउँसो सदरमुकाम मलंगवाको नारायण धर्मशालाबाट सुरुभई जिल्ला विकास चौक, नगरपालिका चौक, बसपार्क हुँदै नगर परिक्रमा गरिएको थियो ।
संघीय गणतान्त्रिक गठबन्धनमा बहुजन एकता पार्टी, संघीय समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी लगायत पाँच वटा दलहरू आबद्ध छन्।