सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकृया प्रणाली (MPDSR) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। अस्पतालको प्रसूति तथा स्त्री रोग विभागको आयोजनामा बुधवार  अस्पताल सभाहलमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादवले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरीटेन्डेन्ट डा. संजीव सिंह रहेका थिए भने, अस्पताल व्यवस्थापन समिति अध्यक्ष सतीश कुमार साहको विशेष उपस्थिति रहेको कार्यक्रममा MPDSR प्रणाली अन्तर्गत मातृ तथा नवजात मृत्युहरूको पहिचान, गोप्य समीक्षा, प्रतिकृया, विश्लेषण र प्रणाली सुधारसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।

प्रशिक्षणमा थ्री डिलेज मोडेल, रिपोर्टिङ उपकरणहरूको प्रयोग, मृत्यु विवरण संकलन र त्यसको नीतिगत उपयोगबारे पनि जानकारी दिइयो।

प्रमुख वक्ताहरूले मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि MPDSR एक महत्वपूर्ण प्रणाली भएको उल्लेख गर्दै संस्थागत समन्वय, जवाफदेहीता, र सेवा सुधारमा यसको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, प्रशासनिक टिम, स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता थियो।