सर्लाहीको कविलासी नगरपालिकामा आजबाट आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। उपमेयर पुनम कर्णको विशेष पहलमा वडा नं. ८ स्थित अगर्वामा स्थापित केन्द्रको उद्घाटन नगरप्रमुख ब्रह्मदेव राय र उपमेयर कर्णले संयुक्त रूपमा गर्नुभएको हो।

नेपाल नेत्रज्योति संघ अन्तर्गतको हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र कविलासी नगरपालिकाको संयुक्त सहकार्यमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।

यसअघि आँखा उपचारका लागि मलगंवा, लालबन्दी, हरिवन, जनकपुर, लहान जस्ता टाढाका सहरसम्म जानुपर्ने बाध्यता रहेको बताउँदै कार्यपालिका सदस्य विनय कुमार कर्णले भने, “अब आफ्नै नगरमा सुविधा प्राप्त हुने भएपछि स्थानीय अत्यन्त खुसी छन्। उपमेयर कर्णको सक्रियताले सम्भव भएको यो कार्य सराहनीय छ।

 

 

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण कविलासीका प्रमुख प्रहरी उपरीक्षक देव बहादुर चन्द, भरतपुर आँखा अस्पतालका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनि र स्थानियहरुको  उपस्थिति रहेको थियो।