तराई-मधेस क्षेत्रमा वर्षा नहुनु र सिंचाइको भरपर्दो व्यवस्था नहुनुका कारण किसानहरू गम्भीर समस्यामा परेका छन्। धानको मुख्य सिजन सुरु भइसके पनि पर्याप्त पानी नपरेकाले धेरै किसान खेत सुक्खा रहँदा चिन्तित छन्।

अहिलेसम्म अधिकांश क्षेत्रमा रोपाइँ सुरु गर्न नसकिएको किसानहरूको भनाइ छ। परम्परागत रूपमा वर्षामा निर्भर कृषि प्रणाली रहेको तराई-मधेसका किसान अझैपनि आधुनिक सिंचाइ प्रणालीबाट बञ्चित छन्। सिँचाइका लागि जमिनमा पानी तान्न ट्युबवेल जडान गरिए पनि पर्याप्त विद्युत आपूर्ति नहुँदा त्यसबाट पनि लाभ लिन नसकेको किसानहरूको गुनासो छ।

“बिधुत त आएको छ, तर लो–भोल्टेजको कारण मोटर चल्दैन,” सर्लाही चन्द्रनगर १ का स्थानीय दिनेश साहले भने। उनका अनुसार विद्युत लाइन पुगेका ठाउँमा पनि बारम्बार लो–भोल्टेज हुने समस्या छ, जसले गर्दा पम्प सेट चलाएर सिंचाइ गर्न सकिएको छैन।

उत्तरी सर्लाहीदेखि तराईका अधिकांश भूभागमा यस्तै अवस्था रहेको छ। कृषकहरू समयमै रोपाइँ गर्न नपाउँदा उत्पादनमा गिरावट आउने डरमा छन्।

किसानले राज्य र सम्बन्धित निकायसँग तत्काल सिंचाइ सुविधा विस्तार र विद्युत सेवा व्यवस्थित गर्न माग गरेका छन्।