लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय समितिको बैठक काठमाडौंको बबरमहलस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। संघका अध्यक्ष कामरेन्द्र वर्माको अध्यक्षतामा बसेको उक्त बैठकले संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमहरूका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले संघको विधान पुनरावलोकन तथा सशक्तीकरणका लागि तीन सदस्यीय विधान अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा केन्द्रीय सदस्य विजेता चौधरी, रानी पाल र काठमाडौं जिल्ला अध्यक्ष प्रिन्सचन्द्र पाल चयन भएका छन्।

त्यस्तै, आगामी साउन महिनामा आयोजना गरिने संघको पहिलो कार्यक्रमबारे पनि बैठकमा गम्भीर छलफल गरिएको संघले जनाएको छ।

बैठकपछि संघका पदाधिकारीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा अध्यक्ष ठाकुरले संघलाई अगाडि बढाउन पार्टीको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए। उनले भने, “संघलाई अघि बढाउनुहोस्, हामीबाट हुने सहयोग अवश्य हुनेछ।”

त्यस अवसरमा लोसपाका महासचिव तथा प्रवक्ता मनिष मिश्रले पनि संघलाई सधैं साथमा रहने प्रतिबद्धता जनाउँदै भने, “संघ राम्रोसँग अगाडि बढाउनुहोस्, हामी सधैं साथमा छौं।”

लोसपा केन्द्रीय सचिव अजय झाले पनि संघका पदाधिकारीहरूलाई प्रोत्साहन र समर्थन व्यक्त गरेका थिए।

शिष्टाचार भेटमा संघका केन्द्रीय सदस्यहरू सुशमिता लाल, इन्जिनियर सतीश कुमार र सुरेन्द्र कुमार सिंहको समेत उपस्थिति रहेको थियो।