सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, मोहनगंजस्थित भित्री सडकखण्डमा विद्यालयको बसले एक बालिकालाई किच्दा ज्यान गएको छ।

मृतक पाँच वर्षीया आशिका महतो ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलमा अध्ययनरत थिइन्। उनी ब्रह्मपुरी–७ मोहनगंजका रमेश महतोकी छोरी हुन्।

विद्यालयबाट घर फर्काउने क्रममा स्कुलकै म.प्र. ०३–००१ क २५४२ नम्बरको बसबाट झर्दै गर्दा पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएकी आशिकालाई उपचारका लागि जीवन नारायण अस्पताल, बयलबास लगिएको थियो। तर, अस्पतालमा सोमबार बेलुकी चिकित्सकले मृत घोषणा गरेको थियो । ब्रह्मपुरी गाउँपालिका–७, मोहनगंजस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय भक्तीपुर, प्रहरी पोस्ट नोकलेवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी टोली खटिएको थियो। प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ भने, बस चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत बालिकाको शव हाल पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।