सर्लाहीको कविलासी नगरपालिका अन्तर्गत गैर हनुमान चौकमा आयोजित “बोलबम साँस्कृतिक कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। बोलबम काँवरिया सेवा समिति, गैर हनुमान चौकको आयोजनामा भएको यस कार्यक्रम श्रावण ९, १०, १६ र १७ गते दुई चरणमा सम्पन्न भएको हो।

पहिलो चरणको कार्यक्रम श्रावण ९ गते शुक्रबार र १० गते शनिबार, तथा दोस्रो चरण श्रावण १६ र १७ गते शनिबार सम्पन्न भएको थियो। कार्यक्रममा गैर हनुमान चौकका स्थानिय विद्यार्थीहरु साथै सनराईज ईंग्लिश बोर्डिङ्ग स्कूल, पिपरियाका विद्यार्थीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमका संयोजक शिक्षक रुपेश साहले नेतृत्व गरेको यो आयोजनामा स्थानीय युवावर्ग, समाजसेवी तथा मान्यजनको महत्वपूर्ण भूमिका रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्जिप महतो, शंकर साह र राहुल साहले गरे भने, पूजा टेन्ट हाउस र अभिषेक डिजे, गैरले प्राविधिक तथा सामग्री सहयोग उपलब्ध गराएका थिए।

कार्यक्रममा झिझिया, बोलबम गीत, नाटक, फिल्मी गीत, कमेडी तथा गायनकला लगायतका विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएका थिए। कार्यक्रम स्थलमा चारैतिरबाट दर्शकहरुको उल्लेख्य भीड देखिएको थियो। प्रस्तुतिमा सहभागी विद्यार्थी कलाकारहरुलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको थियो।

सुरक्षा व्यवस्थाको लागि सशस्त्र प्रहरी बल हरैया, इलाका प्रहरी कार्यालय हरिपुर र प्रहरी चौकी कविलासीले सशक्त भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सम्पूर्ण खर्च स्थानिय गैरबासीहरुद्वारा संकलित चन्दा तथा सहयोगबाट व्यवस्थापन गरिएको आयोजक समितिले जानकारी दिएको छ।