जिल्ला समन्वय समिति महासंघ नेपाल, प्रदेश नं. २ समिति अन्तर्गतका जिल्लाहरूको दुईदिने बैठक आइतबार र सोमबार वीरगंजमा सम्पन्न भएको छ।

बैठकले नेपालको संविधानको धारा २२०, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रदेश सभा ऐन २०७९ अनुसार प्रदत्त अधिकारको प्रभावकारी प्रयोग गर्दै विकास निर्माण र सुशासनमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी प्रतिनिधिहरूले प्रदेशभित्रका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न, गुणस्तरीय निर्माण सुनिश्चित गर्न र सुशासन तथा पारदर्शिता कायम राख्न सबै तहका सरकार र निकायलाई आह्वान गरेका छन्। साथै, ठेक्का प्रक्रिया र ठूला आयोजनामा ढिलाइ गर्ने तथा गुणस्तरहीन काम गर्ने प्रवृत्तिलाई रोक्न प्रभावकारी अनुगमन प्रणाली निर्माण गर्नुपर्ने सुझाव दिइएको छ।

बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माणको क्रममा जिल्ला समन्वय समितिहरूको सुझावलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने आवश्यकता औंल्याएको छ। प्रतिनिधिहरूले जनतामुखी सेवा प्रवाह, नागरिकको जीवनस्तर उकास्ने योजना र स्थानीय सरकारको प्रभावकारिता बढाउन प्रदेश सरकार र स्थानीय तहबीच समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।

 

बैठकमा जिल्ला समन्वय समिति अध्यक्ष  कौशल किशोर सिंह, सदस्यहरू सुमन कुमार लाल कर्ण, कुशल यादव, निलमणि प्रसाद कामार, राज नन्दन मण्डल, दिनेश कुमार महतो, शिव नारायण साह र नरेन्द्र कुमार साहको उपस्थितिमा विज्ञप्ति जारी गरिएको थियो।