र्लाहीमा आज पनि निरन्तर झरी परिरहेको छ ।

जिल्लामा हिजो दिनभर पानी पर्न रोकिएर घाम लागेको थियो । तर हिजो साँझदेखि नै पुनः मौसम बदली भएर पानी परिरहेको हो ।

अहिले बिहानपख चुरेवर्ती क्षेत्र, पूर्व पश्चिम राजमार्ग आसपास र सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा पनि पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् । सर्लाहीसहित तराई क्षेत्रमा झण्डै दुई सातादेखि यसरी निरन्तर पानी परिरहेको छ ।

कहिलेकाँही केहीबेर ठूलो पानी परेपनि बाढी आएर व्यापक मात्रामा जनधनको क्षति गर्ने गरी भने वर्षा भएको छैन् । स्यार्र्रसुर्र रुपमै परेको पानीले रोपाइँ गर्न बाँकी रहेको धान खेतमा रोपाइँ जारी छ भने रोपेको धान बाली हरियो फिरेर गाँज पनि हालिसकेको छ ।

निरन्तरको वर्षापछि अत्यावश्यक काम परेर यात्रामा रहेकाहरुलाई समस्या गराइरहेको छ । कच्ची र धुलो सडकमा अहिले पानी जमेर हिँड्डुल गर्न समस्या परेको स्थानीयले गुनासो गरेका छन् । निरन्तर पानी परेका कारण पूर्वपश्चिम राजमार्गसहित अन्य कालोपत्रे सडकमा पिच उप्किएर खाल्डाखुल्डी बढ्दा सवारी साधन बिग्रने र दुर्घटनाको जोखिम बढेको चालकले बताएका छन् ।

निरन्तर पानी पर्दा चुरेभेगमा बाटो नभएर खोलाबाट हिँड्डुल गर्नुपर्ने ठाउँमा अप्ठेरो परिरहेको स्थानीयको भनाइ छ । दुई साताअघि सुक्खा रहेको मधेश अहिले निरन्तर पानी पर्दा हरियालीमा परिणत भएको छ ।

यसैबिच, देशैभर गएराति वर्षा भएको छ । गएराति कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । झापा र उदयपुरसहितका केही ठाउँमा ठूलो पानी परेको हो ।

पछिल्लो ६ घण्टामा झापामा ८० दशमलव ४ मिलिमिटर, उदयपुरमा पनि ६६ दशमलव ८ मिलिमिटर पानी परेको छ । त्यसैगरी लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको डोटीमा पनि ठूलो पानी परेको छ ।

त्यस्तै इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

पानीको सतह बढ्दै जाँदा सुनसरीको सार्दु खोला र इलामको माई खोला सतर्कता तह पार गरिसकेका छन् ।

झापाको अनारमनी बिर्तामा ठूलो वर्षा भएपछि स–साना खोलामा बहाव बढेको छ । नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।