गोडैता नगरपालिकाले करिब २ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भएको सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ ।

शुक्रबार गोडैता–९ बकैनियामा आयोजित कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा निर्माण सम्पन्न उक्त भवन नगरप्रमुख देवेन्द्र कुमार यादवलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

भवनमा अपाङ्गमैत्री संरचना, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याब, तालिम हललगायत आधुनिक सेवाका लागि आवश्यक पूर्वाधारहरू समेटिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले भवनलाई बहुउपयोगी रूपमा प्रयोग गरी कृषकहरूको जीवनस्तर उकास्ने र ग्रामीण क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आधुनिक प्रयोगशाला सञ्चालनमा आएसँगै किसानलाई उपचार तथा परीक्षणका लागि बाहिर धाउन नपर्ने बताए ।

यसैगरी वडा नम्बर ९ का अध्यक्ष दसै सहनीले भवनले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै आधुनिक प्रविधिबाट उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । वडा नम्बर ८ का अध्यक्ष बिनेस दासले भवनले किसानहरूको आयवृद्धि र जीवनस्तरमा सुधार ल्याउने बताए ।

आर्थिक करिडोर बर्दिवासका प्रमुख रविन्द्र महतोले भवनमा समावेश भएका आधुनिक सुविधाबारे जानकारी दिनुभयो । करिब एक वर्षअघि नगरप्रमुख यादवले शिलान्यास गर्नुभएको उक्त भवन विजय सिर्जना भगत ग्रुप जेभीले निर्माण गरेको हो ।

भवन हस्तान्तरण कार्यक्रममा स्थानीय कृषकहरूले भवन सञ्चालनले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।