राजधानी काठमाडौंको माइतीघर मण्डलामा जारी किसान आन्दोलनप्रति बलरा नगरपालिकाले ऐक्यबद्धता प्रकट गरेको छ।

नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा आज माइतीघरमा आयोजित आन्दोलन कार्यक्रममा सहभागी हुँदै किसानका हकहित र न्यायोचित मागमा नगरपालिकाको समर्थन रहने बताएका छन्।

उनले भने, “किसान देशको मेरुदण्ड हुन्। उनीहरूको पीडा सुन्ने, बुझ्ने र समाधान गर्ने काम राज्यको प्रमुख दायित्व हो। त्यसैले बलरा नगरपालिकाको तर्फबाट किसान आन्दोलनलाई पूर्ण समर्थन गर्दछु।”

नगरप्रमुख कुशवाहाले आन्दोलनमा सक्रिय किसान तथा समर्थकहरूलाई हार्दिक अभिवादन व्यक्त गर्दै सामूहिक ऐक्यबद्धताले आन्दोलनलाई अझ सबल र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

हाल काठमाडौंमा देशभरका किसानहरूले उखु, धानलगायत बालीको उचित मूल्य र अनुदानको मागसहित आन्दोलन गरिरहेका छन्।