राजस्व अनुसन्धान कार्यालयको अनुगमनपछि सर्लाहीका सुनचाँदी व्यवसायीले आजदेखि व्यापार व्यवसाय ठप्प पारेका छन् ।

बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको टोलीले हिजो हरिवन बजारस्थित पप्पु जलरी उद्योग र जयकिशन ज्वेलर्समा अनुगमन गरेको थियो । सो सम्वन्धमा सर्लाही सुनचाँदी व्यवसायी सङ्घले चाडपर्व नजिकिँदै गर्दा राजस्व अनुसन्धान कार्यालयले बजारमा आतङ्क फैलाउने र विभिन्न बहनामा व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाएको छ ।

सङ्घका अध्यक्ष निरन्जनकुमार साहले विज्ञप्ती जारी गर्दै सत्यतथ्य नबुझी हचुवा किसिमले व्यवसायी एवं मजदुरलाई अनावश्यक दुःख दिने र झमेलामा पार्ने काम गरेको भन्दै यस्ता कार्यलाई तुरुन्त रोक्न माग गरेका छन् । सरकारको व्यवसायप्रति नीति, नियम झन्झटिलो र अव्यवहारिक रहेको सर्लाही सुनचाँदी व्यवसायी सङ्घले बताएको छ ।

सङ्घका अध्यक्ष साहले अनुगमनको नाममा अनावश्यक दुःख दिने कार्य तत्काल रोक्न माग गर्दै पहिलो चरणमा जिल्लाका सम्पूर्ण सुनचाँदी पसल बन्द गरिएको जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयको टोलीले अनुगमन गरेका दुईवटा सुनचाँदी पसलबाट केही बिल तथा कागजात नियन्त्रणमा लिएर गएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी पुष्पराज कोइरालाले नियमित अनुगमनको क्रममा हरिवनका दुईवटा सुनचाँदी पसलको अनुगमन गरिएको बताए । अनुगमन टोलीले प्रतिवेदन तयार पारेपछि मात्रै यसबारेमा थप बोल्न सकिने कोइरालाको भनाइ छ । उनका अनुसार अनुगमन गरिएका दुइवटै पसलका सञ्चालकलाई थप सोधपुछका लागि पथलैयास्थित कार्यालयमै बोलाइएको छ ।

राजस्व अनुसन्धानको टोलीले हरिवन बजारका अन्य सुनचाँदी पसलको समेत अनुगमन गर्ने प्रयास गरेको थियो तर व्यवसायी आफैले विरोधस्वरुप पसल बन्द गराएर नाराबाजीमा उत्रिए ।

व्यवसायी विरोधमा उत्रिएपछि अनुगमन टोलीको सुरक्षाका लागि ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गर्नुपरेको थियो ।