नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी तथा औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न सकिने जनाएको छ।

त्यसैगरी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक निकायका कर्मचारीहरूले परिचयपत्र देखाएर कार्यालयमा आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने नेपाली सेनाले जनाएको छ। आवश्यकताअनुसार नजिकै रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ।

काठमाडौं उपत्यकाबाहिरका जिल्लामा समेत सुरक्षाको अवस्था अनुसार निर्णय तथा समन्वय हुने जनाइएको छ। सेनाले सुरक्षा र मानवीय उत्तरदायित्वमा संलग्न सुरक्षाकर्मीलाई सक्रिय सहयोग गर्न सबैलाई आग्रह गरेको छ।