हरिवन–क्यानेश्वर सडक अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका १ र ८ को सीमामा पर्ने चापिनी खोलामा पुल निर्माण भएपछि आवतजावतमा सहजता भएको छ ।

पुल निर्माण भएर सञ्चालनमा आएसँगै सर्वसाधारण खुसी भएका छन् । हरिवन नगरपालिकाले ८५ लाख रुपियाँ खर्चिएर पुल निर्माण गरेको हो । २०८१ असारदेखि सुरु गरी पुलको निर्माण कार्य भर्खरै सम्पन्न भएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिकाको योजना तथा प्राविधिक शाखाका इन्जिनियर जकी अहमद सिद्धकीले पुल निर्माणको काम पुरा भएको जानकारी दिए । निर्माण कम्पनि बागमती कन्ष्ट्रक्सन बागमती सर्लाहीले सम्झौता अनुसार १८ मिटर लम्बाई र सिङ्गल स्पान भएको पुल निर्माण गरेको हो ।

खोलामा पुल नहुँदा हरिवन–क्यानेश्वर सडकमा सवारी आवागमन नै प्रभावित हुँदै आएको थियो । बाढी आएको दिन सिन्धुलीको क्यानेश्वरतर्फबाट यात्रु बोकेर आएका गाडी अलपत्र पर्ने गरेका थिए । पुल निर्माण भएसँगै हरिवन नगरपालिका १ र सिन्धुलीको क्यानेश्वर क्षेत्रका स्थानीयलाई हरिवन बजारसम्म आउजाउ गर्न असाध्य सहज भएको हरिवन १ का वडाध्यक्ष टमबहादुर तामाङले जानकारी दिए ।

पक्की पुल निर्माण भएको स्थानमा नगरपालिका कार्यालय आफैले पहुँच सडक (एपरोज रोड) कालोपत्रेका लागि ठेक्का लगाइसकेको छ । इन्जिनियर सिद्धकीका अनुसार दशैँ, तीहार लगत्तै पहुँच सडक कालोपत्रेको काम अघि बढाउने तयारी गरिएको छ ।