पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल नजिक आज बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् ।

लालबन्दी नगरपालिका–१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्वरको पिकअप गाडी आपसमा ठोक्किएर सडकबाट तल खसेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बिहान साँढे ४ बजेतिर भएको दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–४, का ३७ वर्षीय राजेन्द्र लामा र पिकअप चालक सिरहाको कर्जन्हा नगरपालिका–४, का ३२ वर्षीय दुर्गा विक घाइते भएका लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले उज्यालो अभियानसँग बताए ।

उनका अनुसार दुवै घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई बढी चोट लागेको छ भने पिकअप चालकको अवस्था सामान्य रहेको इन्स्पेक्टर जोहारीले जनाए ।