ग्रामीण नारी उत्थान संघ हरिपुरले आफ्नो संस्थागत समीक्षा र सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ। संघले ईश्वरपुर, हरिपुर, कबिलासी, बरहथवा र लालबन्दी नगरपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक सुरक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा ६ वटा परियोजना सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष ०८१/८२ मा संघले विभिन्न परियोजनामार्फत ९ करोडभन्दा बढी खर्च सार्वजनिक गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि हरिपुर नगरप्रमुख गोपाल पं‍जियारले संघको सहकार्यले नगरको विकासलाई गतिशील बनाएको भन्दै सराहना गरे। उनले पालिका र संस्थाबीचको सहकार्यले छिटो परिणाम ल्याएको बताए।
संस्थाका सभाहलमा बुधवार सम्पन्न कार्यक्रममा संस्थाकी अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता र नगरप्रमुख पं‍जियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईश्वरपुर र हरिपुरका वडा अध्यक्ष, शाखा प्रमुख, बाल क्लब, बाल सञ्जालका प्रतिनिधि तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उपाध्यक्ष बिष्णुप्रसाद चालिसेले जानकारी दिनुभयो ।