सर्लाहीको ईश्वरपुर नगरपालिका–७, भगवानपुरमा आज दिउँसो लघुवित्तका एक जना कर्मचारी लुटिएका छन् ।

बयलवास बजारमा रहेको सूर्योदय लघुवित्त वित्तीय संस्थाका कर्मचारी रिङ्कुकुमारी महतो लुटपाटमा परेकी हुन् । आफूले गाउँको बचत समूहबाट सङ्कलन गरेर ल्याएको दुई लाख ४९ हजार ७४० रुपियाँ लुटिएको रिङ्कुकुमारीले प्रहरी समक्ष बताएकी छन् ।

इलाका प्रहरी कार्यालय केशरगन्जका अनुसार रिङ्कुकुमारी बयलवास बजार नजिकको भगवानपुर टोलमा बचत समूहको पैसा उठाएर बा ४७ प ४५२७ नम्वरको स्कुटरमा बयलवासस्थित कार्यालयतर्फ फर्कदै गर्दा मोटरसाइकल चढेर आएका दुई जना अपरिचित व्यक्तिले लुटपाट गरेका हुन् । लुटपाटमा संलग्न व्यक्तिले प्रयोग गरेको मोटरसाइकल नम्वर खुल्न सकेको छैन् ।

अहिले राति समाचार तयार पार्दासम्म प्रहरीले लुटपाटमा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन् । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले लुटपाटमा परेको भनिएकी महिला, बचत समूहका सदस्यलगायतसँग घटनाबारे सोधपुछ भइरहेको बताए ।

घटनाको सम्वन्धम विभिन्न कोणबाट अनुसन्धान भइरहेको एसपी खड्काको भनाइ छ । “लुटपाटमा पर्नुभएको महिला, उहाँका श्रीमान र जहाँबाट पैसा उठाएर ल्याएको हो, त्यो समूहका महिला दिदी बहिनीसँग इप्रका केशरगन्जमा ल्याएर सोधपुछ गरिरहेका छौँ,” एसपी खड्काले  भने,“पीडितले दिएको बयानका आधारमा फरार रहेका व्यक्तिरुको पनि खोजी भइरहेको छ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बयलवास बजारमा चाडपर्वको बेला दिनदहाडै लुटपाटको घटना भएपछि स्थानीय वासिन्दा, व्यवसायी र बैङ्क तथा वित्तीय क्षेत्रमा त्रास सिर्जना भएको छ ।

ईश्वरपुर क्षेत्रमा यसअघि पनि बारम्बार लुटपाट र चोरीका घटना भइरहेको भन्दै प्रहरीले भरपर्दो सुरक्षा प्रवन्ध मिलाउन नसकेको स्थानीयले आरोप लगाएका छन् ।