सर्लाहीको हरिपुर्वा नगरपालिका प्रमुख विनोदकुमार साह तेली र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले लालबन्दीस्थित डेराबाट लुकीछिपी कार्यालय सञ्चालन गरेको आरोपमा बिहीबार साँझ स्थानीय जनप्रतिनिधि र युवाले आक्रमण प्रयास गरेको घटना पछि शुक्रबार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खडका, जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र स्थानीय युवाहरू सहभागी थिए।

बैठकमा हरिपुर्वा नगरपालिका–८का वडाध्यक्ष रमेश यादवले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाहिरबाट कार्यालय सञ्चालन गर्दै कमिसन र भ्रष्टाचारमा संलग्न रहेको, जनप्रतिनिधिहरूसँग सम्पर्क नगर्ने र नागरिकको दैनिक काममा अबरोध पुर्‍याउने गरेको आरोप लगाए।

सहभागीहरूले नगरप्रमुख र अधिकृतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सूचना अधिकारबाट समेत वञ्चित गरिएको प्रमाणसहित गुनासो राखे। वडा अध्यक्ष यादवले “यदि हाकिम कार्यालयमा नियमित उपस्थित भएनन् भने आन्दोलनमा जाने” चेतावनी पनि दिए।

एसपी खड्काले भने शान्ति–सुरक्षालाई प्राथमिकता दिँदै “शारीरिक वा भौतिक आक्रमण होइन, कानुनी बाटोबाट गुनासो समाधान गर्नुपर्छ” भन्ने सुझाव दिए। निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलले “हरिपुर्वा नगरपालिका स्वयं स्थानीय सरकार भएकाले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ” भन्दै दुवै पक्षलाई संयमित हुन आग्रह गरे।

लालबन्दीमा तोडफोड र आक्रमण प्रयास

बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजारस्थित अधिकृत साह बस्दै आएको कोठामा आक्रोशित वडाध्यक्ष र स्थानीयले तोडफोड गरेका थिए। कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्री क्षतिग्रस्त भएका थिए।

आक्रमणको प्रयासमा हरिपुर्वा–६ का वडाध्यक्ष सामसोगारथ राय यादवको नाक र आँखामा सामान्य चोट लागेको बताइएको छ। इलाका प्रहरी कार्यालय लालबन्दीको टोली पुगेपछि स्थिति नियन्त्रणमा आएको थियो।

लामो समयदेखि शिक्षक तथा कर्मचारीहरूले तलब नपाएको गुनासो पनि बैठकमा उठाइएको थियो। प्रशासनले घटनाको विस्तृत छानबिनका लागि तयारी थालेको जनाएको छ।