राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले अब कर्मकाण्डी पत्रकारिता टिक्न नसक्ने बताएका छन् ।

आज सर्लाही सदरमुकाम मलंगवामा जिल्लाका संचारकर्मीलाई डिजिटल साक्षरता, लैंगिक संवेदनशील रिपोर्टिङ र गो–ग्रिन पहलहरु विषयमा तालिम प्रदान गर्दै झाले समानुकूल पत्रकारिता गर्ने पत्रकार मात्रै अबको दिनमा अघि बढ्न सक्ने बताएका हुन् । उनले वातावरण संरक्षण र नागरिकलाई यो विषयमा सुसूचित गर्ने कार्यमा लाग्न जिल्लाका पत्रकारसँग आग्रह गरेका छन् ।

उनले उदाहरण दिँदै यहाँ सिमल र सनपाटका रुख हराएका, खरका छानो लोप भएका, बोतल तथा प्लाष्टिकजन्य सामग्रीको अत्यधिक प्रयोग बढेको, खेतबारीमा प्राङ्गारिक मलको साटो रासायनिक मल मात्रै प्रयोग भएर माटोको उत्पादन शक्ति घट्दै गएको, समाजमा विद्यमान लैंगिक हिंसका घटना जगडिएर बसेको तर बाहिर आउनै नसकेको जस्ता विषयमा कलम चलाउन आवश्यक रहेको बताएका छन् । सुनौलो सिसौट नेपालको आयोजना, नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वय र इन्टरनेशनल एलर्टको सहयोगमा सर्लाहीका पत्रकारका लागि आयोजित तालिम दिन झा यहाँ आएका हुन् ।

तालिमका सहभागीलाई प्रशिक्षक झा, इन्टरनेशनल एलर्टका एशिया डाइरेक्टर रविना श्रेष्ठ, संस्थाकी प्रतिष्ठा थापा, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुणप्रताप सिंह, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायत भएर प्रमाण–पत्र वितरण गरेका छन् ।