प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा आइतबार रातभर प्रहरी टोली तैनाथ भएको थियो । इन्स्पेक्टर जोहारी नेतृत्वको प्रहरी टोलीले सोमबार बिहान ५ बजेतिर लालबन्दी नगरपालिका–६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको हो ।

उक्त गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठसमेत पक्राउ परेका छन् । लखन्देही खोलाको भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको सूचना पाएपछि प्रहरी टोली लालबन्दी ६ को शिव मन्दिर आसपासमा बाटो ढुकेर बसेको थियो ।

भित्री बाटो हुँदै प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्वरको मोटरसाइकलबाट गाँजा बरामद भएको हो । प्रहरीका अनुसार अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको हो ।

पक्राउ परेका श्रेष्ठ अटोमा सवार रहेका थिए । मोटरसाइकलमा रहेका मानिस भने फरार भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले बतायो ।