३४औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत “श्रमिकको अधिकार र पहिचान” विषयक अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न भएको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारासहित कार्यक्रम महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपालद्वारा आयोजना गरिएको हो।

मलंगवा नगरपालिका–३ का वडा अध्यक्ष प्रमोद राय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मानव अधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्र, महिला तथा बालबालिका शाखा प्रमुख नगिना यादव, दलित अधिकारकर्मी गोबिन्द पासवान, जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी सहायक निरीक्षक फुलमाया गुरौ, आशिष समाजिक सेवा नेपालकी संगिता नेपाली, मुक्ति नेपालकी रीना शाह, ओरेक कार्यक्रम प्रमुख गुन्जा साह, संस्थाकी दिव्या शाह, रम्भा सरदार, पत्रकार लगायत महिला समुहहरुको सहभागिता रहेको थियो।

अन्तरक्रियामा स्थानीय महिला श्रमिकहरूले लैङ्गिक हिंसा, घरेलु श्रमिक र उद्योगमा न्युन पारिश्रमिक, श्रमको मूल्यांकन, तथा हिंसा न्यूनीकरणका उपायहरूबारे खुलस्त छलफल गरेका थिए। कार्यक्रम प्रमुख गुन्जा साहले महिलालाई अधिकार, हिंसा तथा श्रमसम्बन्धी कानुनी र सामाजिक पक्षबारे विस्तृत जानकारी प्रदान गरिन्।

वडा अध्यक्ष प्रमोद राय यादवले महिला श्रमिकले सिप सिकेर आफ्नो आर्थिक सशक्तिकरण गर्नुपर्नेमा जोड दिंदै, नगरपालिकाले महिला श्रमिकको हितमा लगानी गरिरहेकाले महिलाहरूले पनि आफ्नो अधिकारका लागि स्वतः अग्रसर हुनुपर्ने धारणा राखे।

१६ दिने अभियानको अवसरमा बुधबार दिउँसो ओरेक कार्यालय मलंगवामा कार्यक्रम सम्पन्न भएको हो।