मधेश प्रदेशको धनुषा जिल्लास्थित लालगढामा आज सम्पन्न प्रदेश स्तरीय मानव अधिकार रक्षक संजाल भेलाले सर्लाहीबाट मुकेश कुमार मिश्र र बुधन साहलाई प्रदेश सदस्य तथा अब्दुल सहमद (नगमा) लाई सचिवालय सदस्यमा सर्वसम्मतिले चयन गरेको छ। मानव अधिकार सम्बद्ध क्रियाकलापलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित उक्त भेलामा प्रदेशभरिका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश प्रमुख बुधनारायण सहनी रहेका थिए। त्यस्तै, अधिवक्ता तथा अधिकारकर्मी सुनिल साह, एडभोकेसी फोरमका प्रदेश प्रमुख राजकुमार महासेठ, पत्रकार कैलास दास लगायतका विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

मधेश प्रदेशका आठै जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त भेलाले मानव अधिकार संरक्षण, निगरानी र दिगो संस्थागत संरचना निर्माणबारे समेत महत्वपूर्ण चर्चा–विमर्श गरेको आयोजकले जनाएका छन्। अन्य उपसमिति पहिलो बैठकले गठन गर्ने मानव अधिकार रक्षक संजाल जिल्ला अध्यक्ष एवं प्रदेश सदस्य मुकेश कुमार मिश्रले जानकारी दिए ।