बरहथवा नगरपालिकाको पहलमा लैङ्गिक समानता मेला–२०२५ (Gender Equality Carnival) उत्साहपूर्वक सम्पन्न भएको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुख्य सन्देशसहित आयोजित मेलाले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियानलाई विशेष कार्यक्रममार्फत मनाएको हो।

मेलामा महिला, पुरुष, किशोरी–किशोर, दलित समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागीहरूले साइबर हिंसा रोकथाम, सुरक्षित प्रविधिको प्रयोग, आत्म–सुरक्षाका उपाय तथा समुदायको भूमिकाबारे महत्वपूर्ण सुझाव आदान–प्रदान गरे।

कार्यक्रमको आकर्षणमा प्रस्तुत नृत्य र नाटकले लैङ्गिक समानता तथा हिंसाविरुद्धको सन्देशलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्दै जन–जागरणमा महत्वपूर्ण भूमिका खेले।

स्थानीय समुदाय, विद्यालयका बालबालिका, सामाजिक अभियन्ता तथा सहकर्मी साझेदार संस्थाहरूको सक्रियताले लैङ्गिक असमानता अन्त्य अभियानलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ छ।

बरहथवा नगरपालिकाका विभिन्न शाखा प्रमुख, मानव अधिकार रक्षक संजालका अध्यक्ष मुकेश कुमार मिश्र, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष रम्भा झा, ओरेक संस्थाकी कार्यक्रम अधिकृत गुंजा साह, दिव्या साह, दलित महिला केन्द्र नेपालकी दिवानी घिमिरे, सर्वोदय नागरिक विकास केन्द्र लगायत मेलामा स्थानीय समुदायका किशोर–किशोरी, महिला, पुरुष, दलित समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन नगर प्रमुख कल्पना कटुवालले गर्नुभएको थियो। मेलामाअन्तर्गत लैङ्गिक हिंसा सम्बन्धी पुस्तक/सूचना स्टल प्रदर्शनी ओरेक संस्थाले सञ्चालन गरेको थियो।