३४औं अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत मलंगवा–११ स्थित श्री लक्ष्मि जनता माध्यमिक विद्यालय गम्हरियामा मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ।

“प्रविधिको प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित आयोजित कार्यक्रममा कक्षा ८ देखि १० सम्मका छात्र–छात्रालाई मानव बेचबिखन र लैङ्गिक हिंसाका जोखिम, रूपरंग र रोकथामका उपायबारे विस्तृत जानकारी गराइएको थियो। आयोजक आशिष सामाजिक सेवा नेपालकी जिल्ला संयोजक संगीता नेपालीले प्रविधिको बढ्दो प्रयोगले बालबालिका र किशोरीहरू लैङ्गिक हिंसाका विभिन्न रूपको सहज सिकार बन्न सक्ने भन्दै समयमै सतर्कता र सजगता आवश्यक रहेको बताइन्। विशेषगरी किशोरी अवस्थाका बालिकाहरू मानव बेचबिखनका प्रकोपमा परिरहेको तथ्यांकले देखाएको भन्दै उनले विद्यार्थीलाई जोखिम पहिचान तथा बच्ने उपायहरूबारे मार्गदर्शन दिइन्।

कार्यक्रममा ओरेककी दिव्या साहले लैङ्गिक हिंसाका प्रकार, कानुनी व्यवस्था तथा पीडितले पाउन सक्ने सहयोगबारे जानकारी प्रस्तुत गरेकी थिइन्।
सहभागी विद्यार्थीहरूलाई सचेतना सम्बन्धी पर्चा र स्टिकर वितरण गरिएको थियो।

आयोजक आशिष सामाजिक सेवा नेपालकोआयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही महिलासेलका सत्यनारायण साह, ओरेक प्रतिनिधि, पत्रकार, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू उपस्थित थिए।

यस कार्यक्रमले विद्यालय तहमै विद्यार्थीहरूमा मानव बेचबिखन तथा लैङ्गिक हिंसाबारे सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।