महिला पुनर्स्थापना केन्द्र (WOREC) ले मधेश प्रदेशमा महिला हिंसासँग सम्बन्धित अर्धवार्षिक तथ्यांक सार्वजनिक गरेको छ। प्रेस विज्ञप्ति अनुसार सन् २०२५ को पछिल्लो ६ महिनामा प्रदेशभर महिलामाथि १४१ घटना दर्ता भएका छन्।

सबैभन्दा बढी घरेलु हिंसा देखिएको छ। कुल घटनामध्ये ६४ वटा (५४.५७%) घरेलु हिंसासँग सम्बन्धित छन्। सामाजिक हिंसाका २४ घटना (१९.०२%), यौन हिंसाका २० घटना (१४.७५%), र अन्य १३ घटना (९.२२%) दर्ता भएका छन्।

WOREC का अनुसार महिलाहरू पारिवारिक, सामाजिक र आर्थिक कारणले हिंसाको शिकार भइरहेका छन्। घरेलु हिंसामा पति, परिवारका सदस्य वा आफन्तबाट कुटपिट, मानसिक यातना, घरबाट निकाल्ने, आर्थिक नियन्त्रण गर्ने जस्ता घटना बढी देखिएका छन्।

संस्थाले समुदायस्तरमा चेतनामूलक कार्यक्रम, पीडितमैत्री न्याय प्रणाली, कानुनी पहुँच सहज बनाउने र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको औंल्याएको छ।

ओरेक मधेश प्रदेश संयोजक विणा कुमारी सिंह का अनुसार बालविवाह, दाइजो प्रथा र घरेलु हिंसाका कारण महिला तथा किशोरीहरू अझै असुरक्षित अवस्थामा छन्। कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या जटिल बन्दै गएको छ।