मलंगवा पुस१४ —जेसिज माध्यमिक विद्यालय मलंगवाको सहयोग तथा बाल कल्याण समाज सर्लाहीको आयोजनामा मलंगवा नगरपालिका–९ स्थित श्री प्राथमिक विद्यालयमा अध्ययनरत १२ जना अभावग्रस्त बालबालिकालाई न्यानो जैकेट वितरण गरिएको छ।

 

बाल कल्याण समाज सर्लाहीका अध्यक्ष तथा सामाजिक अभियन्ता सुन्दर श्याम रायको पहलमा कार्यक्रम सम्पन्न भएको हो। तराई–मधेशका जिल्लाहरूमा अत्यधिक शीतलहर बढेसँगै जनजीवन कष्टकर बन्दै गएको र त्यसको प्रत्यक्ष असर विशेषगरी बालबालिकामा परिरहेको अध्यक्ष रायले बताए।

बालबालिकालाई चिसोबाट लाग्ने विभिन्न रोगबाट जोगाउन, उनीहरूको पठन–पाठन प्रभावित हुन नदिन तथा आपसी सहयोग, सद्भाव र सहानुभूति अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी उनले दिए।

सोमबार सम्पन्न वितरण कार्यक्रममा जेसिज माध्यमिक विद्यालयका प्रधानाध्यापक भोला भट्ट, लेखा प्रमुख एवं पूर्व वडा अध्यक्ष ईश्वरी श्रेष्ठ, श्री प्राथमिक विद्यालय मलंगवा–९ का प्रधानाध्यापक सन्तोष कर्णलगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।