जिल्ला समन्वय समिति (जिसस) सर्लाहीको सभाहलमा आर्थिक वर्ष २०८२/८३ का लागि जिल्ला स्तरमा स्थानीय तहका असल अभ्याससम्बन्धी आदान–प्रदान तथा सुझाव संकलन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिति पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तहमा कार्यान्वयन भइरहेका असल अभ्यास, उपलब्धि, चुनौती तथा सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा जिसस सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतो, सदस्यहरू अलाउद्दिन मियाँ, रामबहादुर बज्रन तामाङ, हेमबहादुर कार्की, पार्वती देवी थरुनी, रामशिला कुमार यादव, रेखा देवी लगायतको सहभागिता रहेको थियो। त्यस्तै, प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया तथा जिल्ला समन्वय समिति सर्लाहीका अधिकृत कमल बहादुर कार्कीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय तहबीच अनुभव आदान–प्रदानमार्फत सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

जिल्लामा रहेका २० वटै स्थानीय तहलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य भए पनि लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, हरिपुर कविलासी नगरपालिका, बलरा नगरपालिका, चक्रघट्टा गाउँपालिका, विष्णु गाउँपालिका, चन्द्रनगर गाउँपालिका, धनकौल, कौडेना, पर्सा र ब्रह्मपुरी का प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिक अधिकृतहरूको मात्र सहभागिता रहेको थियो। सहभागी पालिकाहरूले गत आर्थिक वर्षमा हासिल गरेको प्रगतिको समीक्षा प्रस्तुत गरेका थिए।

तर ईश्वरपुर, बागमती, गोडैता, बरहथवा, मलंगवा, हरिपुर्वा नगरपालिका तथा रामनगर र बसबरिया गाउँपालिका का प्रतिनिधि कार्यक्रममा सहभागी नभएको जिसस सर्लाहीले जनाएको छ। कार्यक्रममा सहभागी नजनाउने पालिकालाई स्पष्टीकरण सोधिने प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिनुभयो। संघीय मामिलासँग सम्बन्धित कार्यक्रम भएकाले उपस्थिति अनिवार्य रहेको भन्दै अनुपस्थित पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाइने पनि उहाँले बताउनुभयो।

जिसस सर्लाहीको पुरानो सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्जय विश्वकर्माले गर्नुभएको थियो।