अहिले देशको तराई क्षेत्रका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज बिहान मौसम पूर्वानुमानअनुसार तराईका विभिन्न सहरहरूमा पारदर्शिता निकै कम मापन गरिएको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमानअनुसार जनकपुर,धनगढी, नेपालगञ्ज, लगायतका स्थानहरूमा कुहिरो देखिएको छ भने भैरहवा, सिमरा, विराटनगर र चन्द्रगढीमा हुस्सुको अवस्था रहेको छ। कतिपय स्थानमा पारदर्शिता एक किलोमिटरभन्दा कम मापन भएकाले कुहिरोको प्रभाव गम्भीर देखिएको छ।

यसैगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागिरहने भए पनि दिउँसोपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ।

हुस्सु तथा कुहिरोका कारण कृषि क्षेत्र, स्वास्थ्य, सडक तथा हवाई यातायात, साथै दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको मौसमविद्हरूले बताएका छन्। विशेषगरी यस्तो समयमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित निकायले यात्रु, किसान, सवारी चालक तथा सर्वसाधारणलाई मौसमको अवस्था बुझेर सतर्क रहन र सावधानी अपनाउन अनुरोध गरेका छन्।