भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधिहरु बन्दसत्रका लागि हल प्रवेश गर्ने क्रम सुरु भएको छ ।

बिहान १० बजेबाट बन्द सत्र सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरुको दर्ता नसकिएकाले बन्दसत्रको समय पछि सरेको छ ।

प्रतिनिधिको नाम दर्ता नै पूरा नभएका कारण बन्द सत्रमा ढिलाइ भइरहेको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए।

विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या केहीबेर अघिसम्म २८ सय नाघेको छ। सोमबार पनि थप दुई सय जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्।

आइतबार उद्घाटन सत्र चल्दा साँझसम्म दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए।