भारतको बिहार प्रदेश अन्तर्गत वैशाली जिल्लास्थित रौदीपोखरमा सम्पन्न विश्व बज्जिका महोत्सवमा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका बज्जिका साहित्य समाज, सर्लाही (मधेस प्रदेश, नेपाल) का पदाधिकारीहरू विभिन्न प्रतिष्ठित सम्मानबाट सम्मानित भएका छन्।

समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहालाई महाकवि अवधेश्वर अरुण बज्जिका रत्न सम्मान–२०२५ बाट सम्मानित गरिएको छ। त्यस्तै, उपाध्यक्ष शैलिया ठाकुरलाई बज्जिका सेनापति महिला सम्मान–२०२५ तथा सचिव मुकेश कुमार मिश्रलाई सिंह सेनापति बज्जिका शौर्य सम्मान–२०२५ प्रदान गरिएको हो।

उहाँहरू लामो समयदेखि बज्जिका भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आउनु भएको आयोजकले जनाएको छ। महोत्सवमा नेपालबाट प्रतिनिधित्व गर्दै बज्जिका समुदायको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल भएको भन्दै सहभागीहरूलाई उच्च प्रशंसा गरिएको छ।

महोत्सव २०२६ जनवरी २३ गते (२०८२ माघ ९ गते, शुक्रबार) सम्पन्न भएको हो।