ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा साहित्यमा विशिष्ट योगदान पुर्‍याएका ११ जना स्रष्टालाई सम्मान गरेको छ। शुक्रबार काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंह भाइकै अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा अग्रज विश्वकवि तथा संस्कृतिविद तुलसी दिवस दाइ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वरिष्ठ कवि शैलेन्द्र साकार र अग्रज कथाकार पुष्कर लोहनी दाइको विशेष उपस्थिति रहेको थियो।

स्वास्थ्य अवस्था प्रतिकूल हुँदाहुँदै पनि प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले निरन्तर रूपमा कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आएकोमा सहभागी स्रष्टाहरूले उहाँको साहित्यिक प्रतिबद्धता र जुनूनको उच्च प्रशंसा गरेका छन्।

यस अवसरमा कविता, गीत, गजल तथा लघुकथा वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो। साथै, लेखक–कवि राकेश कुमार झा (रसिक) को कवितासङ्ग्रह “म पनि लेख्न सक्छु” को लोकार्पण गरियो। सोही दिन उहाँको जन्मदिन परेकाले केक काटेर जन्मदिनको शुभकामनासहित कार्यक्रम सम्पन्न गरिएको थियो।

सम्मानित स्रष्टाहरू यसप्रकार रहेका छन्:

ज्योति साहित्य सम्मान:

ज्ञान उदास, उषा शेरचन, ध्रुव मधिकर्मी, सीता पाण्डे, नीलम कार्की निहारीका, इल्या भट्टराई

ज्योति प्रतिभा सम्मान:

महेशराज खरेल, श्याम श्रेष्ठ, राकेश कुमार झा

ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान:

कल्पना मरासिनी, राजेश मान के.सी.

सम्मान प्राप्त गर्ने स्रष्टाहरूले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै सबै सम्मानित स्रष्टाहरूलाई एकमुष्ट बधाई ज्ञापन गरेका छन्।