जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा जिल्लाभरका पालिकाका कृषि तथा पशु शाखा प्रमुखहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। मलंगवा स्थित जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा आयोजित उक्त कार्यक्रम जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौल किशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र महतो, जिल्ला समन्वय अधिकारी कमल बहादुर कार्की, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा,कृषि परियोजना कार्यान्वयन राष्ट्रिय इकाइका प्रमुख डा. सुरेन्द्र यादव, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका प्रमुख डा. मुनि राउत, समितिका सदस्यहरू लगायत जिल्लाका २० वटै पालिकाका कृषि तथा पशु शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

अन्तर्क्रिया कार्यक्रममा गत आर्थिक वर्ष २०८०/८१ तथा चालु आर्थिक वर्षको पुस महिनासम्म सञ्चालन भएका कार्यक्रम, बजेट खर्च तथा उपलब्धि सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौल किशोर सिंहले जिल्ला समन्वय समितिले हरेक वर्ष जिल्लामा सञ्चालन भएका विकास निर्माण तथा कृषि–पशु क्षेत्रका कार्यक्रमहरूको समीक्षा गर्दै अन्तर्क्रिया गर्दै आएको जानकारी दिनुभयो। कार्यक्रममा उठेका सुझाव तथा देखिएका समस्या समाधानका लागि समिति गम्भीर रहेको उहाँले बताउनुभयो।

यसैगरी जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र महतोले कृषि क्षेत्रमा अझै बजेटको अभाव रहेको र स्थानीय तहमा दक्ष जनशक्तिको कमी चुनौतीका रूपमा रहेको बताउनुभयो।

जिल्ला समन्वय समिति सर्लाहीका सुब्बा संजय विश्वकर्माका अनुसार जिल्ला समन्वय समितिले माघ २० गते जिल्लाका स्थानिय तहका प्रमुखहरूसँग, माघ २१ गते गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग तथा माघ २२ गते कृषि तथा पशु शाखा प्रमुखहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो।