माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ आजदेखि देशभर सुरु भएको अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ।

सर्लाही जिल्लामा ३५ वटा परीक्षा केन्द्रमार्फत सञ्चालन भएको परीक्षामा कुल १० हजार ५६९ परीक्षार्थी सहभागी भएका छन्। जसमा ५ हजार ३७१ छात्रा र ५ हजार १९८ छात्र रहेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका शाखा अधिकृत तथा सूचना अधिकारी सुनिल कुमार कुशवाहाका अनुसार आजको परीक्षामा ८०२ जना परीक्षार्थी अनुपस्थित रहेका छन्। अनुपस्थितमध्ये ४५८ छात्रा र ३४४ छात्र रहेका छन्।

यस वर्षदेखि परीक्षा केन्द्रमा कडाइ गरिएको छ। केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन। साथै, चिट, गाइड, किताब, नोटबुक तथा अन्य विद्युतीय सामग्री प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ।

परीक्षा केन्द्रको २०० मिटर वरपर अभिभावक तथा अन्य व्यक्तिहरूलाई बस्न नदिने व्यवस्था गरिएको छ।

आजदेखि सुरु भएको परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ। समग्रमा, पहिलो दिनको परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।