माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत आज सामाजिक शिक्षा तथा प्राविधिक धारतर्फ ऐच्छिक गणित विषयको परीक्षा सर्लाहीमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका अनुसार परीक्षामा सहभागी हुन फारम भरेका कुल ११ हजार ३७१ विद्यार्थीमध्ये १० हजार ४५० जना परीक्षामा उपस्थित भएका छन् भने ९२१ जना अनुपस्थित रहेका छन्।

उपस्थितमध्ये ५ हजार २५७ छात्रा र ५ हजार १९३ छात्र रहेका छन्। त्यस्तै, अनुपस्थिततर्फ ५५७ छात्रा र ३६४ छात्र रहेका छन्। यस वर्ष नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ १ हजार ८६ विद्यार्थीले फारम भरेका थिए।

आजको परीक्षा स्वच्छ, निष्पक्ष, मर्यादित, अनुशासित तथा भयरहित वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

शाखा अधिकृत सुनिल कुमार कुशवाहाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ बमोजिम परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण कार्यसमेत भइरहेको छ।

परीक्षा व्यवस्थापन व्यवस्थित र विश्वसनीय रूपमा सञ्चालन भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।