सर्लाहीमा लखनदेही नदीबाट हुने बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणका लागि ८ स्थानीय तहबीच महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ। चक्रघट्टा गाउँपालिकाको आयोजनामा मलंगवास्थित महेन्द्र होटलमा आयोजित अन्तर–पालिका बैठकले दीर्घकालीन सहकार्यको आधार तयार गरेको हो।

चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न बैठकमा लखनदेही नदी जलाधार क्षेत्रअन्तर्गत पर्ने हरिवन, लालबन्दी, हरिपुर, कविलासी, बरहथवा नगरपालिका तथा बसबरीया र कौडेना गाउँपालिकासहित ८ स्थानीय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकले नदी व्यवस्थापन तथा विपद् न्यूनीकरणका लागि ६ बुँदे साझा प्रतिबद्धताको मस्यौदा तयार गर्दै संयुक्त रणनीतिमा अघि बढ्ने निर्णय गरेको छ।

मुख्य प्रतिबद्धताहरू:

  • एकीकृत जलाधार व्यवस्थापन
  • बाढी पूर्व–सूचना प्रणाली विकास
  • नदीजन्य पदार्थको दिगो उत्खनन
  • साझा विपद् कोष स्थापना
  • प्रदेश तथा संघसँग नीतिगत समन्वय
  • समयानुकूल योजना परिमार्जन

जलवायु उत्थानशील समुदाय कार्यक्रमको सहयोगमा सम्पन्न बैठकमा सहभागीहरूले बाढी जोखिम समाधानका लागि आधुनिक प्रविधि र सामूहिक योजना आवश्यक रहेकोमा जोड दिएका छन्।

हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालका अनुसार आगामी वैशाख ३ गते हरिवनमा बस्ने उच्चस्तरीय बैठकले उक्त मस्यौदालाई अन्तिम रूप दिई अनुमोदन गर्नेछ।

कार्यक्रममा आसमान नेपालका कार्यक्रम संयोजक डोरेन्द्र बहादुर बस्नेत र मर्सी कोरका कार्यक्रम संयोजक संजित श्रेष्ठले प्राविधिक सहजीकरण गरेका थिए।

यसैबीच, वर्षा मापनका लागि हरिवन, हरिपुर र चक्रघट्टाको पटेर्वामा मापन केन्द्र जडान गर्ने तयारीसमेत गरिएको आसमान नेपालका सामाजिक परिचालक सन्तोष चौधरीले जानकारी दिनुभयो।

लखनदेही नदीले बर्सेनि पुर्‍याउने क्षति न्यूनीकरण गर्न गरिएको यो समन्वय प्रयासलाई स्थानीय तहहरूले कोसेढुङ्गा कदमका रूपमा लिएका छन्।