बिपिन थापा मनोपरामर्शदाता तथा लत उपचार विशेषज्ञ
नेपालमा किशोरहरूबीच लागूपदार्थ तथा व्यवहारजन्य लतको समस्या तीव्र रूपमा बढिरहेको छ। यो अब व्यक्तिगत कमजोरी, “बिग्रिएको बानी”, वा “अनुशासनहीनता” को विषय मात्र रहेन। यो मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक संरचना, तथा सार्वजनिक स्वास्थ्यसँग गाँसिएको गम्भीर राष्ट्रिय संकटका रूपमा विस्तार हुँदै गएको छ तर समस्या जति बढिरहेको छ, त्यसलाई बुझ्ने हाम्रो दृष्टिकोण भने अझै पुरानै छ हामी अझै पनि लागूपदार्थ प्रयोग गर्ने किशोरलाई “बिग्रिएको बच्चा” भन्छौँ। दिनभर मोबाइल चलाउने किशोरीलाई “अटेरी” ठान्छौँ। रातभर अनलाइन खेल खेल्ने बालकलाई “अनुशासनहीन” भनेर दण्डित गर्छौँ। तर वास्तविकता फरक छ। धेरैजसो अवस्थामा यी व्यवहारहरू गहिरो भावनात्मक पीडा, मानसिक तनाव, एक्लोपन, असुरक्षा, वा आत्मसम्मानको कमीका बाहिरी संकेत मात्र हुन्

विश्व र नेपालको बढ्दो संकट

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक सातमध्ये एक किशोर कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। किशोरावस्थामा देखिने अवसाद, चिन्ता, आत्महानी, जोखिमपूर्ण व्यवहार, तथा लागूपदार्थ प्रयोगबीच प्रत्यक्ष सम्बन्ध रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् संयुक्त राष्ट्रसंघीय लागूपदार्थ तथा अपराध नियन्त्रण कार्यालयको सन् २०२५ को प्रतिवेदन अनुसार विश्वभर लागूपदार्थ प्रयोगकर्ताको संख्या ३१ करोडभन्दा बढी पुगेको छ। पछिल्लो दशकमा यो संख्या उल्लेखनीय रूपमा बढेको छ, र यसको ठूलो प्रभाव किशोर तथा युवा पुस्तामा देखिएको छ

विश्व स्वास्थ्य संगठनले अत्यधिक अनलाइन खेल खेल्ने अवस्थालाई औपचारिक मानसिक स्वास्थ्य समस्याका रूपमा मान्यता दिइसकेको छ। अहिले विश्वभर किशोरहरूमा डिजिटल लत, अत्यधिक स्क्रिन प्रयोग, सामाजिक सञ्जाल निर्भरता, तथा अनलाइन खेलको समस्या तीव्र रूपमा बढिरहेको छ।

नेपालमा पनि अवस्था कम गम्भीर छैन

वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा किशोरकिशोरीहरूमा गरिएको अध्ययन अनुसार:

झन्डै १५.८७ प्रतिशत किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको लागूपदार्थ प्रयोग गरिरहेका छन्
लागूपदार्थ प्रयोग गर्ने किशोरहरूमध्ये ८०.८ प्रतिशत बालक र १९.२ प्रतिशत बालिका रहेका छन्
सबैभन्दा बढी प्रयोग हुने पदार्थमा मदिरा (७०.३ प्रतिशत), सुर्तीजन्य पदार्थ (५४.३ प्रतिशत), तथा गाँजा (२०.३ प्रतिशत) रहेका छन्।
अधिकांश किशोरहरूले १४ देखि १६ वर्षको उमेरमै पदार्थ प्रयोग सुरु गर्ने गरेका छन्
८३.९ प्रतिशत किशोरहरूले “साथीहरूको दबाब” लाई प्रमुख कारण बताएका छन्
५८ प्रतिशतले “जिज्ञासा” तथा ४२ प्रतिशतले “मनोरञ्जन” लाई कारण बताएका छन्
७७ प्रतिशत किशोरहरूलाई पदार्थ प्रयोगका दीर्घकालीन स्वास्थ्य जोखिमबारे पर्याप्त जानकारी छैन यी तथ्यांकहरू केवल संख्या होइनन्। यी हाम्रो समाजभित्र मौन रूपमा बढिरहेको संकटका संकेत हुन्

पदार्थ मात्र होइन, व्यवहार पनि लत बन्दैछ

नेपालमा अहिले पदार्थजन्य मात्र होइन, व्यवहारजन्य लत पनि तीव्र रूपमा बढिरहेको छ। विशेषगरी किशोरहरूमा:

अनलाइन खेल
टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब
अश्लील सामग्रीमा निर्भरता
अनलाइन जुवा
अत्यधिक स्क्रिन प्रयोग
डिजिटल सम्बन्धमा निर्भरता

जस्ता समस्याहरू गम्भीर रूपमा बढिरहेका छन्।

मेरो व्यावसायिक अभ्यासमा पछिल्ला केही वर्षमा एउटा स्पष्ट परिवर्तन देखिएको छ। पहिले मुख्यतः पदार्थजन्य लतका केसहरू बढी आउने गर्थे । अहिले भने स्क्रिन, खेल, डिजिटल सम्बन्ध, तथा सामाजिक सञ्जालसँग सम्बन्धित समस्याहरू उल्लेखनीय रूपमा बढेका छन् धेरै अभिभावकहरूले अझै पनि “मोबाइल धेरै चलाएको मात्रै हो” भनेर समस्यालाई सामान्य बनाउने गर्छन्। तर समस्या त्यतिबेला सुरु हुन्छ जब बच्चाले आफ्नो पढाइ, निद्रा, भावनात्मक नियन्त्रण, तथा सामाजिक सम्बन्ध गुमाउन थाल्छ

लत वास्तवमा के हो?

लत केवल पदार्थको समस्या होइन यो सोच, व्यवहार, भावना, र जीवनशैलीसँग सम्बन्धित जटिल मनोवैज्ञानिक अवस्था हो पुनःस्थापनाको क्षेत्रमा लामो समयदेखि एउटा महत्त्वपूर्ण अवधारणा प्रयोग हुँदै आएको छ:लत केवल पदार्थमा निर्भरता होइन; यो डर, असुरक्षा, कम आत्मसम्मान, र नकारात्मक सोचसँग पनि जोडिएको हुन्छ।” सोचले व्यवहार निर्माण गर्छ व्यवहार दोहोरिँदा बानी बन्छ र बानी नियन्त्रणबाहिर जाँदा निर्भरता विकसित हुन्छ लतलाई अहिले विश्वव्यापी रूपमा मस्तिष्कसँग सम्बन्धित दीर्घकालीन रोगका रूपमा बुझिन्छ। यो क्रमशः बढ्ने, पुनः दोहोरिने सम्भावना रहने, र उपचारबिना गम्भीर परिणाम निम्त्याउन सक्ने अवस्था हो उपचारबिना यसको परिणाम सम्बन्ध विच्छेद, हिंसा, मानसिक रोग, अस्पताल भर्ना, जेल, वा अकाल मृत्यु समेत हुन सक्छ।

किशोरहरू किन बढी जोखिममा छन्?

किशोर मस्तिष्क अझै विकासको चरणमा हुन्छ। निर्णय क्षमता, आत्मनियन्त्रण, तथा जोखिम मूल्यांकनसँग सम्बन्धित मस्तिष्कीय संरचना पूर्ण विकसित भइसकेको हुँदैन।

त्यसैले किशोरहरू तत्काल आनन्द दिने व्यवहारतर्फ छिटो आकर्षित हुन्छन् र निर्भरता विकास हुने जोखिम पनि बढी हुन्छ।

धेरै किशोरहरू लततर्फ “रमाइलो” का लागि मात्र जाँदैनन्। धेरैले:

तनाव कम गर्न
भावनात्मक पीडाबाट भाग्न
असफलताको भावना बिर्सन
आफूलाई स्वीकारिएको महसुस गर्न
एक्लोपन हटाउन

पदार्थ वा डिजिटल दुनियाँलाई आश्रय बनाउँछन् कहिलेकाहीँ लत आफैं समस्या होइन, बरु त्यो कुनै गहिरो मानसिक पीडाको लक्षण हुन्छ।

वास्तविक घटनाहरू : लतभित्र लुकेका अदृश्य पीडा

मोबाइल होइन, ऊ डरबाट भागिरहेको थियो”

काठमाडौंका १६ वर्षीय एक किशोरलाई परिवारले “खेलको लत” भनेर उपचारका लागि ल्याएका थिए। उनी दिनमा १५ घण्टासम्म अनलाइन खेल खेल्थे। मोबाइल खोस्दा हिंसात्मक प्रतिक्रिया दिन्थे। परामर्शका क्रममा थाहा भयो  उनी विद्यालयमा लगातार जिस्क्याइँ र अपमानको सिकार भएका रहेछन्। सामाजिक रूपमा असुरक्षित महसुस गर्ने, सार्वजनिक रूपमा बोल्न डराउने, तथा तीव्र सामाजिक चिन्ताबाट प्रभावित थिए उनका लागि खेल मनोरञ्जन मात्र थिएन।
त्यो वास्तविक जीवनबाट लुक्ने ठाउँ बनिसकेको थियो

उसलाई मोबाइल होइन, भावनात्मक सम्बन्ध चाहिएको थियो”

१७ वर्षीया एक किशोरी रातभर सामाजिक सञ्जालमा सक्रिय रहन्थिन्। परिवारले “मोबाइल बिगार्‍यो” भनेर लगातार गाली गरिरहेको थियो।

तर गहिरो मनोसामाजिक परामर्शपछि थाहा भयो  उनी लामो समयदेखि भावनात्मक उपेक्षा, आत्मसम्मानको कमी, तथा एक्लोपनसँग संघर्ष गरिरहेकी थिइन्।

उनले एक दिन भनिन्:

अनलाइन हुँदा कम्तीमा कसैले मलाई देख्छ त ।”

त्यो वाक्य धेरै किशोरहरूको मौन पीडाको प्रतिनिधित्व हो

परिवर्तन सुरु भयो, जब उसले स्वीकार गर्‍यो”

२२ वर्षीय एक युवक बारम्बार पुनः पदार्थ प्रयोगमा फर्किएपछि पूर्ण निराश अवस्थामा पुगेका थिए। परिवारले “अब कहिल्यै सुधारिँदैन” भन्ने निष्कर्ष निकालिसकेको थियो तर परिवर्तन त्यतिबेला सुरु भयो, जब उनले पहिलोपटक खुलेर भने: मलाई सहयोग चाहिएको छ।” त्यही स्वीकार उपचारको पहिलो चरण बन्यो पुनःस्थापनाको प्रक्रियामा एउटा महत्त्वपूर्ण कुरा के हो भने समस्या स्वीकार गर्नु कमजोरी होइन। बरु परिवर्तनतर्फको पहिलो साहसी कदम हो।

नेपालमा सबैभन्दा ठूलो चुनौती

नेपालमा मानसिक स्वास्थ्य तथा लतसम्बन्धी सेवाहरू अझै पर्याप्त पहुँचयोग्य छैनन्। धेरै जिल्लामा विशेषज्ञ सेवा उपलब्ध छैन । विद्यालयहरूमा मनोसामाजिक सहयोग प्रणाली कमजोर छ। परिवारमा खुला संवादको अभ्यास कम छ। धेरै अभिभावक अझै “डर देखाएर सुधार्ने” सोचमै छन् त्यसको परिणाम के हुन्छ भने, किशोरहरू झन् एक्लिन्छन् हामीले अझै पनि लतलाई नैतिकताको चश्माबाट हेर्न छोडेका छैनौँ। यही कारण धेरै परिवार समस्या लुकाउँछन्। धेरै किशोर उपचार खोज्न डराउँछन्। धेरै महिलाहरू सामाजिक लज्जाका कारण चुपचाप पीडा सहिरहेका हुन्छन्

अब दृष्टिकोण बदल्नैपर्छ

लतको उपचार सम्भव छ। तर उपचार केवल औषधि वा पुनःस्थापना केन्द्रले मात्र सम्भव हुँदैन। यसका लागि परिवार, विद्यालय, समुदाय, स्वास्थ्य प्रणाली, र राज्यको संयुक्त संवेदनशीलता आवश्यक हुन्छ। हामीले किशोरहरूलाई केवल “के नगर्ने” भनेर सिकाउने होइन,

भावना कसरी व्यवस्थापन गर्ने
तनावसँग कसरी जुध्ने
अस्वीकृति कसरी सहने
स्वस्थ सम्बन्ध कसरी बनाउने
सहयोग कसरी खोज्ने

भन्ने पनि सिकाउनुपर्छ अभिभावकहरूले बच्चाको व्यवहारमा आएको परिवर्तनलाई समयमै बुझ्नुपर्छ। शिक्षकहरूले केवल अनुशासन होइन, भावनात्मक संकेत पनि हेर्नुपर्छ। र राज्यले मानसिक स्वास्थ्यलाई अझै पनि दोस्रो प्राथमिकतामा राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ किशोरहरूको लत केवल एउटा व्यक्तिको समस्या होइन। यो हाम्रो सामाजिक संरचना, पारिवारिक सम्बन्ध, डिजिटल संस्कृतिको प्रभाव, र भावनात्मक असुरक्षाको सम्मिलित परिणाम हो।

त्यसैले अब समय आएको छ लतलाई दोष होइन, उपचारको दृष्टिले हेर्ने किनकि सही समयमा बुझाइ, सहयोग, र उपचार पाए धेरै किशोरहरू फेरि सुरक्षित, सम्मानपूर्ण, र अर्थपूर्ण जीवनतर्फ फर्किन सक्छन्

लेखक परिचय

बिपिन थापा मनोपरामर्शदाता तथा लत उपचार विशेषज्ञ हुन् । उनी किशोर मानसिक स्वास्थ्य, पदार्थ दुर्व्यसन, व्यवहारजन्य लत, पुनःस्थापना, तथा मनोसामाजिक सहयोगका क्षेत्रमा कार्यरत छन्।