जिल्ला तथा स्थानीय तहलाई साक्षर घोषणा गर्ने तयारीस्वरूप आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार सदरमुकाम मलंगवास्थित महेन्द्र होटलमा सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख मित्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा भएको हो। कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका माधव प्रसाद पोखरेल, शाखा अधिकृत बैकुण्ठ आचार्य,  चाइल्ड एड नेटवर्कका राजेन्द्र लोहार, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) का कार्यकारी निर्देशक शिवजी साह तथा शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका शाखा अधिकृत शाखा अधिकृत एवं कार्यक्रम सञ्चालक सुनिल कुमार कुशवाहा लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्लाका १९ वटै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई साक्षर घोषणा तयारी, आवश्यक मापदण्ड, कार्यान्वयन प्रक्रिया तथा समुदायस्तरमा साक्षरता अभिवृद्धिका उपायबारे अभिमुखीकरण गरिएको थियो।

अभिमुखीकरणका क्रममा दिगो विकास लक्ष्य अन्तर्गतको साक्षरता शिक्षा, राष्ट्रिय शिक्षा नीति २०७६ मा समेटिएका साक्षरता सम्बन्धी व्यवस्था तथा “साक्षर नेपाल अभियान” सम्बन्धी रणनीतिबारे समेत प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा रेडियो, टेलिभिजन, मोबाइल तथा अन्य सञ्चार प्रविधिको प्रयोगमार्फत साक्षरता अभियानलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

त्यसैगरी मधेश प्रदेशको साक्षरता प्रतिशत, जिल्लागत अवस्था, स्थानीय तहले पूरा गर्नुपर्ने सूचक तथा समुदायमा कार्यान्वयन गर्नुपर्ने योजनाबारे विस्तृत जानकारी गराइएको आयोजकले जनाएको छ।

कार्यक्रममा असार मसान्तसम्म साक्षर घोषणा प्रक्रिया सम्पन्न गर्ने गरी कार्ययोजना बनाएर अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै प्रधानाध्यापकहरूले विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्दै ३० दिने कार्ययोजना समेत सार्वजनिक गरेका थिए।

यो अभियान वडास्तरबाट सुरु गरी पालिका हुँदै जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। अभियान कार्यान्वयनका लागि जिल्लामा सहकार्य संस्थाका रूपमा चाइल्ड एड नेटवर्क र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) साझेदार संस्थाका रूपमा रहने तथा अभियानको पूर्ण जिम्मेवारी पालिकाका शिक्षा शाखा प्रमुख/शिक्षा अधिकृत तथा विद्यालयका प्रधानाध्यापकहरूको रहने जानकारी दिइएको छ।