सर्लाही-  मर्सी कोर नेपाल र आसमान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रघट्टा गाउँपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) स्थापना गरिएको छ।

गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना राय प्रमुख अतिथिको रूपमा सहभागी हुनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बाबु प्रसाद कुशवाहा, वडा नं. १, ३, ५ र ९ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीका प्रमुखहरू, RRPK र RDC नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आसमान नेपालका बोर्ड सदस्य बिरेन्द्र यादव, कार्यक्रम संयोजक डोरेन्द्र बहादुर बस्नेत, कार्यक्रम अधिकृत शम्भु राज कर्ण, IMO नारायण प्रसाद यादव तथा सामाजिक परिचालक सन्तोष कुमार चौधरीले केन्द्रको उद्देश्य, सञ्चालन प्रक्रिया तथा विपद् व्यवस्थापनमा यसको भूमिकाबारे जानकारी गराउनुभएको थियो।

स्थापित केन्द्रले विपद् तथा आपतकालीन अवस्थाको सूचना संकलन, समन्वय, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य क्षमताको विकासमा केन्द्र महत्वपूर्ण माध्यम बन्ने सहभागीहरूले बताएका छन्।