पहिचान नेपालको आयोजना तथा मलंगवा नगरपालिकाको सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम दुई शिफ्टमा विभाजन गरी सञ्चालन गरिएको थियो। मलंगवा नगरपालिकाभित्र बसोबास गर्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका करिब १०० जना सदस्यलाई कार्यक्रममा सहभागी गराई यौनिक तथा लैङ्गिक विविधता, कानुनी सचेतना, मानव अधिकार तथा आफ्नै पहिचान र अधिकारसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको आयोजक संस्था पहिचान नेपालका अध्यक्ष अब्दुल सहमद (नगामा) ले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले समाजमा भोग्दै आएका विभिन्न समस्या, चुनौती तथा विभेदका विषयमा खुला छलफल गरेका थिए। उनीहरूले रोजगारी, सामाजिक स्वीकार्यता, कानुनी पहुँच तथा आफ्नो अधिकारको उपभोगमा देखिएका कठिनाइबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए।

अध्यक्ष अब्दुल सहमद (नगामा) का अनुसार प्रशिक्षणमार्फत समुदायका सदस्यलाई कानुनी ज्ञान, मानव अधिकारसम्बन्धी जानकारी तथा आत्मनिर्भर बन्न सकिने विभिन्न उपायबारे समेत जानकारी गराइएको थियो। सहभागीहरूलाई एक–एक दिनको प्रशिक्षणमार्फत आवश्यक ज्ञान र सीप प्रदान गरिएको उनले बताए।

बिहीबार मलंगवा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको अध्यक्षता तथा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण, सशक्तीकरण तथा सामाजिक समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।