राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनभीटीआई), भैँसेपाटी, ललितपुर र सर्लाहीका कविलासी तथा हरिवन नगरपालिकाको लागत साझेदारीमा सञ्चालन गरिएको ३९० घण्टे मन्टेश्वरी तथा मोबाइल मर्मत तालिम सम्पन्न भएको छ।

वैशाख ३१ गतेदेखि सञ्चालन भएको तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार कविलासी नगरपालिकाको कार्यालयमा सम्पन्न भएको हो। कविलासी र हरिवन नगरपालिकामा सञ्चालन गरिएको तालिममा सहभागी जम्मा ८० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

समापन कार्यक्रममा कविलासी नगरपालिकाका नगर प्रमुख ब्रह्मदेव राय, उपप्रमुख पूनम कर्ण, प्रमुख प्रशासकीय अधिकृत मंगरी बराल, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका प्रमुख रविन्द्र श्रेष्ठ, प्रबन्धक वर्षा घिमिरे, रवि मण्डल लगायत जनप्रतिनिधि, प्रशिक्षक, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रमाणपत्र वितरण गर्दै उपप्रमुख पूनम कर्णले तालिमबाट प्राप्त सीपले सहभागीहरूको दैनिक जीवनमा उपयोगी बन्नुका साथै स्वरोजगार र जीविकोपार्जनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। उनले सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधिहरूले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुने सीपमूलक तालिमले दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनभीटीआई) र हरिवन तथा कविलासी नगरपालिकाको लागत साझेदारीमा सञ्चालन गरिएको उक्त ३९० घण्टे तालिममध्ये मन्टेश्वरी तालिमको प्राविधिक सहयोग त्रिपुर इन्जिनियरिङ प्रा.लि., काठमाडौंले तथा मोबाइल मर्मत तालिमको प्राविधिक सहयोग नेपाल उद्यमी विकास परामर्श केन्द्र प्रा.लि., खैरहनी, चितवनले गरेको थियो।