सर्लाहीको मलंगवा नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रमसम्पन्न गरेको छ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख नगेन्द्र प्रसाद यादव, जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका सुशील झा, स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साह, शिक्षा शाखा प्रमुख जगदीश झा,सलिम मिकरानी, पहिचान नेपालका अब्दुल सहमद (नगमा), स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्ण खोप सुनिश्चित गर्न नगरपालिकाले सञ्चालन गरेका गतिविधि, खोप कार्यक्रमको दिगोपना कायम राख्ने रणनीति तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो।

स्वास्थ्य निरीक्षक धिरेन्द्र यादवले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका १२ वटै वडाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।